एस.एल.सी. किन चाहियो ? खारेज गरे हुन्छ
नेपाली विद्यालयमा आमूल शैक्षिक सुधार: केही सुझाब
शिव गौतम
पछिल्लो
समयमा मध्यम बर्गीय परिवारले पनि सकी नसकी आफ्ना सन्तानले (छोरी समेत)
राम्रो शिक्षा पाउन भनेर निजी विद्यालयहरूमा पठाउने गरेको देखिन्छ । कतिपय
भ्रष्टाचार गरेर धनसम्पति कमाएको भनेर हल्ला चलेका र सामजिक रूपमा सन्दिग्ध
चरित्र भएकाले समेत आफ्ना सन्तानलाई महंगा स्कूलमा पठाउने र पढाउने गरेको
देखिन्छ । त्यस्तै कतिपयले मजदुरी गरेर, एकमुठी कम खाएर जोगाएको पैसाले वा
अझ आफ्नै शरीर बेचेर पनि आफ्ना सन्तानलाई पढाएका समाचार पनि यदाकदा आउने
गर्छन । आँफु अशिक्षित भए पनि आफ्ना सन्तानलाई पढाउनुपर्छ भन्ने यसप्रकारको
चेतना आउनु भनेको सकारात्मक कुरा मान्नु पर्छ ।
शैक्षिक चेतनाका थुप्रै यस्ता सूचक
हुँदाहुँदै पनि हामी शैक्षिक उपलब्धिमा सापेक्षिक रूपमा जहाँ हुनु पर्ने हो
त्यहाँ छौं जस्तो लाग्दैन । निजी र सरकारी विद्यालय बिचको गुणस्तरमा खाडी
बढ्दो छ, सहरी र ग्रामिण भेगका विद्यालय बिचको खाडी बढ्दो छ । एस.एल.सी.को
परीक्षामा आधा जति विद्यर्थी, लाखौंको संख्यामा, ‘असफल’ हुन्छन भने कतिले त
आत्महत्या गर्छन । अनि कतिपय उच्च शिक्षा हाँसिल गरेर विदेश गएकाले आफ्नो
नेपालको शैक्षिक योग्यताको अबमुल्यन भएको अनुभव गरेका र भोगेका मात्र होईन,
आफ्नो सपना चकनाचूर भएको देखेका छन ।
यी माथिका कुराले के देखाउँछ भने समाजमा
केटा केटीलाई शिक्षा दिनुपर्छ भन्ने व्यापक सोँच छ,चिन्ता छ, शैक्षिक
चेतनाका सूचक छन्, तर उपयुक्त शिक्षा दिन सकिएको छैन । सायद शिक्षा प्रतिका
चेतना र चिन्ताका प्रसस्त सूचक भए पनि कसरी शिक्षा दिनुपर्छ भन्ने सोँच,
शोचक र चिन्तनशीलताको अभाव छ ।
यो लेखमा म आफना केहि अबलोकन, जो झट्ट हेर्दा आलोचना जस्ता पनि लाग्न सक्छन, बुँदागत रूपमा राख्न चाहान्छु ।
एस.एल.सी.खारेज गर्नु पर्ने
एस.एल.सी. किन चाहियो हामीलाई ? एस.एल.सी. ले काम गएको छ हाम्रो लागि ? यो नभए के हुन्छ?
एस.एल.सी.परीक्षा केन्द्रहरूमा अचेल
विद्यार्थीहरूले चोर्दै गरेको, शिक्षकहरूले विद्यार्थीहरूलाई चोर्न दिंदै
गरको, अभिभावकहरुले चोराउँदै गरेको र प्रहरीले हात बाँधेर तमासा हेरी रहेका
दृश्य समान्य भई सकेका छन् ।अझ तीन सय विद्यार्थी भएका केन्द्रमा नौ सय
अभिभावक चोराउन भेला भएका कुरा पनि समाचारमा आएका थिए । विद्यार्थी,
अभिब्वावक, शिक्षक, प्रहरी सबै चोरै चोर भएको समाज कस्तो होला । यदि यो
मामुली करो हो भने नेपालीको यो पनि नबिर्सौं “ सियो चोर्नेले फाली चोर्छ,
फाली चोर्नेले घर फोर्छ ।” अर्को कुरा कुलतमा लागेका बाबु आमा छोरा–छोरी ले
त्यो लत टपक्कै टिप्ने सम्भावना हुन्छ र यो बानी एउटा पुस्ता देखि अर्कोमा
सर्दै गएर अन्ततोगत्वा एउटा कुसंस्कार भएर समाजमा जरा गाडेर बस्न सकछ ।
यसरी एस.एल.सी.ले चोर समाजको सृजनाको जग बसाल्न मद्दत गरीरहेको छ । अनि
नेपाल भ्रस्टाचार हुने मुलुकहरूको सूचीमा निकै माथी भएकोमा त्यति नरमाईलो
ठाउँ छ र?
एस एल सीको जाँचमा बर्षेनी लाखौँ
विद्यार्थीहरू असफल हुन्छन, फेल हुन्छन । पहिले त म यो असम्भव कुरा हो
भन्छु । कोहि पनि असफल हुन जन्मेको हुँदैन ।यो प्रकृतिको विरुद्ध हो ।
कतिपय ठेस लाग्न सक्छन जीवनको गोरेटोमा हिंड्दा, तर एस.एल.सी.ले त कतिलाई
पछाडिबाट जानीजानी धकेलेर ढुंगामा लगेर पछारी नै दिन्छ । अनि कतिलाई
भिरबाटै गर्ल्याम-गुर्लुम झारी दिन्छ । एस.एल.सी. का कारणले कतिले आत्म
हत्या पनि गर्छन । एस.एल.सी. यस दृष्टिले हत्यारा हो ।एस.एल.सी. दिंदा सम्म
पनि केटा केटी कलिलै उमेरका हुन्छन । ती ससाना निर्दिष नानीलाई, जो हाम्रा
आँखाकानानी हुन्छन, जसलाई जतनले माया गरेर हुर्काईन्छ, जो बिरामी पर्दा
रात-रात रुँगेर बसिन्छ, जसलाई आफ्नो सर्वस्व ठानिन्छ, जसको लागि ज्यान समेत
दिन तयार हुन्छौं तीनै नानीहरू लाई एस.एल. सी. को कारणले ‘असफल’को संज्ञा
पाएर,मरे तूल्य पारेर, जीवन भरकोलागि हिनताको माला गलामा झुन्ड्याउँन कसरी
हेर्न सकिन्छ होला ? फूल जस्तै हाँसी रहनु पर्ने आफ्ना सन्तानको
एस.एल.सी.ले त्यो हबिगत बनाउँदा, उनीहरूको भविस्यमा भित्र-भित्रै डढेलो
लगाउँदासमेत हाम्रो समाज र हामी अभिभावकहरू चूँ बोल्न सक्दैनौं वा
जान्दैनौं । बरू एउटा कुखुरालाई बसले किच्यो भने सडकै जाम गरिदिन्छौ ।
एस.एल.सी.को अर्को उदेक लाग्दो पक्ष पनि
देखेको छु । विद्यार्थीले पाएका अङ्कका आधारमा उनीहरूलाई बर्गिकरण गररे
त्यसमा चाहिने भन्दा अतिनै धरै महत्व दिने । कुनै बेला ‘बोर्ड फष्ट’ हुने
सँग पत्र-पत्रिकाले अन्तवार्ता लिएर अन्तमा उस्को ‘सन्देश’ के छ भनेर
सोधेको पनि देखेको छु । त्यो विचरा १६-१७ बर्ष को केटा वा केटीले के संसार
देखेको हुन्छ, बुझेको हुन्छ, भोगेको हुन्छ र उसले अरूलाई संदेश दिन योग्यता
राख्दछ? बिचरा उ पनि के गरोस, कतै घोकेका, सुनेका कुरा टेप रेकर्डरले
जस्तै दोहोर्याई दिन्छ । र हामी ताली पड्काई दिन्छौं ।
परीक्षा नियन्त्रण कार्यालयमार्फत
एस.एल.सी. को व्यवस्थापनमा सरकारले बर्सेनी करोडौं खर्च गर्छ । यो त लडे
माथि अर्को मुड्की भने जस्तो भयो । विभिन्न समाजमा देवता समेत नयाँ नयाँ
आईरहेका हुन्छन भने हामीले निष्ठुरी, निर्दयी, खर्चालु , चोर समाज सिर्जना
गर्ने गतिबिधिलाई प्रोत्साहन दिने एस.एल.सी.लाई अझै पुजी राख्नु, पाली
राख्नुको कुनै औचित्य छैन ।
एस. एल. सी. लाई खारेज गर्ने समय आएको छ ।
त्यसको ठाउँमा अर्कै कुनै व्यबस्था ल्याउनु पर्छ । त्यसको व्यबस्थापनमा
हुने गरेको खर्च शिक्षाको गुणात्मक र बैकल्पिक विकासमा लगाउनु पर्छ । म
त्यस्तै एउटा व्यबस्थाको एउटा वैकल्पिक शिक्षा प्रणालीको खाका तल प्रस्तुत
गर्ने छु ।
हाल बिद्यमान अव्यबहारिक, अन्यायपूर्ण
शिक्षा प्रणालीमा आमूल परिबर्तन गर्न त्यसको ठाउँमा अर्को ब्यबहारिक
न्यायपूर्ण प्रणालीमा तलका केहि अवयव हुनु पर्ने आबश्यक छ ।
अभिभाबकले पनि जिम्मेवारी लिनु पर्ने, सिक्नु पर्ने
कुनै पनि समाजमा त्यहाँको पुरानो चाल
चलनले थाहा नपाउने गरी जरा गाडेको हुन्छ र कतिपय परिबर्तनहरू खाली बाहिर
बाहिर बोक्रे मात्रै हुन्छन । परापूर्ब कालमा बिद्यार्थी गुरू संग पढ्न
घरबाट निस्केर जान्थे र धेरै समय पछि घर फर्कन्थे । गुरूलाई जिम्मा लाएपछि
छोराको पढाईमा बाबु आमाको जिम्मेवारी सकिने गर्थ्यो । त्यसबेला अधिकांश ले
घोकेरै पढ्ने गर्थे । ती प्रथाको अवशेष अझै पनि सुसुप्त रूपमा कायमै
देखिन्छ । मेरो पुस्ताकाहरूले त त्यो झन धेरैले प्रस्टै अनुभव गरको हुनु
पर्छ ।आफ्ना छोरा छोरी को भविष्य को जिम्मेबारी अर्काको हातमा मात्र
सुम्पिनु ठिक हो र? अभिभावक ले पनि आफ्ना छोरा छोरीको शिक्षाको जिम्मेबारी
लिनु पर्छ । बास्तबमा विद्यार्थीको शिक्षामा शिक्षक, अभिभावक र
विद्यार्थीको बिचको घनिष्ठ सहकार्य हुनु पर्ने हो । त्यसपछि स्थानीय समुदाय
र देशले होष्टेमा हैंसे गर्नु पर्ने हो । कसरी आफ्ना नानीहरूको शिक्षामा
सहभागी हुने भनेर अभिबावकहरूले पनि शिक्षा लिनु पर्छ ।
आफ्ना छोरा छोरीको शिक्षामा अभिभावक
बिभिन्न प्रकारले सहभागी हुन सक्छन । उदाहरणका लागि छोरा-छोरीलाई गृह
कार्यमा (होम वर्क)सघाउन सक्छन । अपठित अभिभावक भए वा नजाने को विषय भए होम
वर्क गर्न सम्झाउन सक्छन, आफ्नो अगाडि राखेर होम वोर्क गर्न लगाउन सक्छन ।
त्यस्तै प्रत्येक महिना शिक्षक र अभिभावकको मिटिंग गरेर विद्यार्थीको
प्रगति बारेमा छलफल गर्न सक्छन । कुनै विद्यार्थी पढाईमा पछि पर्दै गएको भए
किन त्यस्तो भई रहेको छ पत्ता लाउने कोशिस गरेर समस्याको निदान खोज्नपट्टी
लाग्न सक्छन ।
सम्पूर्ण बोझ र बुझ्ने जिम्मेबारी केटाकेटीमा थोपर्नु हुन्न
एउटा उदाहरणबाट शुरू गरौँ । कतिपय
मान्छेले साना केटा केटीलाई अनाहकमा जिस्क्याउने गर्छन, ती केटा केटीको मन
परेको कुरो वा प्रिय बस्तु लैजाउँ भनेर वा यो त पेरो पो हो त भनेर
जिस्क्याउँ छन । अनि जब बिचरा त्यो बच्चा रून थाल्छ, अनि, ‘धत्, मैले त्यसै
ठट्टा पो गरको त कस्तो त्यति पनि न बुझ्ने भनेर उल्टै त्यहि बच्चालाई
हकार्छन ।यस्तो ब्यबहारले के बताउँछ भने, बुझ्ने जिम्मेबारी, सानो बच्चाको
हो, त्यो प्रौढ को होईन । यो त पुरै उल्टो र कुतर्क भएन र?
माथि भनेको उदाहरण कै बिस्तारित रुप हो
हाम्रो शिक्षा प्रणालीले सारा बुझ्ने जिम्मेवारी कलिला विद्यार्थीहरू लाई
जिम्मा लगाई दिएको । विद्यार्थी असफल हुनुमा शिक्षकको भूमिका हुँदैंन ?
कुनै सीप ठुलोले सानोलाई वा अझ भनुँ जान्नेले नजान्नेलाई सिकाउँदा वा
पढाउँदा कसको जिम्मेवारी बढी हुन्छ? अझ भनौं सिक्ने पक्ष अनुभवहिन, संसार
नदेखेका, नबुझेका, र त्यो सीप किन सिक्नु पर्छ भन्ने समेत राम्ररी थाहा
नपाइ सकेका अनि उमेर नपुगेका बाल बालिका छन भने त झन जान्ने, सिकाउने र
गुरूको जिम्मेवारी अरू बढ्न जान्छ । यस हिसाबले विद्यार्थी असफल हुनु भनेको
शिक्षक पनि असफल हुनु हो, शिक्षा प्रणाली असफल हुनु हो, शिक्षा का
योजनाकार असफल हुनु हो । तर हामी त्यो असफलता सम्पूर्ण जिम्मवारी यो
शिक्षामा सलग्न सबै समूह मध्ये सबै भन्दा निरिह, कान्छो र अनुभवहीनबर्ग
विद्यार्थीलाई जिम्मेबार ठहराउँछौं ।
जाँचदिने विद्यार्थी, तर नम्बर पाउने शिक्षक र विद्यालय हुनु पर्ने
मौले माथि एसएलसी खारेज गर्नु पर्छ भनेको
थिएँ । यसको मतलब सम्पर्ण परीक्षा प्रणाली खारेज गर्नु पर्छ, विद्यार्थीको
जाँच लिनु हुँदैन भनेको होईन । विद्यार्थीको जाँच बेला-बेला लिनु पर्छ ।
त्यस्ता जाँच स्कूलले मात्रै लिए हुन्छ, देश को केन्द्रीय स्तर को जाँच
आबश्यक छैन भन्न खोजेको हो । बर्ष को एक दुई पटक जिल्ला वा क्षेत्रीय
स्तरमा जाँच लिनु पर्छ ।तर यस्तो जाचमा परीक्षार्थी त विद्यार्थी नै
हुनेछन, तर पाएको नम्बर अनुसार शिक्षक र विद्यालय को मूल्याँकन हुने गर्नु
पर्छ भन्ने मेरो सुझाब हो । यसरी जिल्ला स्तरीय जाँच गरीयो भने त्यो
जिल्लाको जुन स्कूल का धेरै विद्यार्थीले जाचमा राम्रो गर्छन, ती विद्यालय र
त्याहाँका शिक्षक राम्रो ठानिनेछन ।
उदाहरणका लागि मानौं गणितको जिल्ला (वा
क्षेत्रीय) स्तरको जाँचमा एउटा विद्यालयका ९०% विद्यार्थीले अति राम्रो गरे
र १०% ले त्यति राम्रो गर्न सकेनन् । त्यसै गरी त्यहि क्षेत्र वा जिल्लाको
अर्को स्कूलमा भने १०% ले मात्र राम्रो गर्न सके भने दोश्रो स्कूल वा
त्यहाँ गणित पढाउने शिक्षकमा केहि कम्जोरीहरू छन । यदि अन्य कारणले त्यस्तो
भएको हो भने त्यो के हो र त्यसको कारण तर्फ लाग्नु पर्छ । यदि शिक्षककै
कमजोरी हो र बारम्बार त्यो दोहोरीयो र शिक्षक ले आँफुलाई सुधार्दैन भने
एउटा विन्दुमा गएर उसलाई पढाउन दिनु हुँदैन ।हवाई जाहाज उडाउन नाजान्नेलाई
कसले पाईलट भनेर ककपिट जिम्मा लगाई दिन्छ ।
यहाँ म दुईवटा बेग्ला-बेग्लै जाँचको
बारेमा कुरा गर्दै छु । एउटा विद्यालयमा शिक्षकले लिने नियमित परीक्षा र
अर्को जिल्ला वा क्षेत्रीय स्तरमा सरकारले लिने परीक्षा ।सरकारको तर्फ बाट
लिईने बर्षको एक वा दुई परीक्षा माथि भने जस्तै विद्यालय र शिक्षकको
मूल्याँकन का लागि हो ।
विद्यालयले लिने नियमित परीक्षामा
विद्यार्थीको मूल्याँकन गर्न, उनीहरूका के कमजोरीहरू छन, छन भने ती
कमजोरीलाई सम्बोधन गर्न, शिक्षक र अभिभावकले कसरी मिलेर सम्बोधन गर्न सक्छन
भन्नका लागि हो । नियमित परिक्षा लिएर राम्रो गर्नेलाई उत्तर पुस्तिका मै,
राम्रा उत्साह बर्धक टिप्पणी गर्ने, कुनै प्रश्नमा विद्यार्थी चुके भने
त्यसको सहि उत्तर दिने, वा बोलाएर भेट्ने, धेरै नराम्रो भएको छ बने अभिभावक
संग मिलेर त्यसको कारण पत्ता लगाएर त्यसको हल खोज्ने प्रयास गर्न सके पनि
विद्य्यार्थी आफ्नो भविष्य सुनौला वनाउने प्रयास बाट बन्चित हुने थिएनन् ।
यसरी विद्यार्थीको सट्टा विद्यालयहरूको
मुल्याकन गर्दा दर्जामा कम्जोर स्कूललाई कसरी माथि ल्याउने त्यसको उपाय
खोज्नु पर्छ । गुणस्तरमा माथिल्लो दर्जामा पर्नेलाई प्रोत्साहन दिनु पर्छ ।
यो मथिको प्रणालीमा असफलताको बोझ विद्यालय
र शिक्षकको थाप्लामा पर्ने छ ।जाँच विद्यार्थीले दिए पनि अभिभावकहरु
चोराउन आउने छैनन् किनभने विद्यार्थीले पाउने नम्बरको अब त्यति (
एस.एल.सी.को जस्तो) महत्व हुने छैन । जाँचले विद्यालय र शिक्षकको समेत
मुल्य्यांकन हुने भएकोले बरू कुनै शिक्षकले विद्यार्थीलाई चोराउन सक्छन, तर
यसलाई जिल्ला शिक्षा कार्यालले कुनै उपाय निकालेर सजिलै नियन्त्रण गर्न
सक्छ । एस.एल.सी.को जाँचमा तिन सय विद्यार्थीलाई चोराउन नौ सय अभिभाबक
जम्मा भए जस्तो समस्या पर्दैन ।
कलेज,विस्वविद्यालय र जागिरको लागि प्रवेश परीक्षा
माबि र उमाबिका विद्यार्थीको शैक्षिक
योग्यताको मुल्यांकन बिद्यालयको हातमा मात्र छोडी दिए पछि, अभिभावकको
दबाबमा परेर, राजनीतिक पार्टी र तिनका डनहरूका दबाबमा परेर शिक्षकले सबैलाई
राम्रो नम्बर दिए भने के गर्नु भन्ने आउला । त्यस्तो भएमा केहि आपत्ति
छैन, ठिकै छ , त्यस्तो हुन्छ भने होस् । तर विद्यालय पछि जता गए पनि एउटा
प्रबेश परीक्षा दिने व्यबस्था गर्नु पर्छ । सरकारी जागिरमा गए लोक सेबा
छँदै छ, यो कुनै नौलो कुरो भएन । निजी संस्थान वा कम्पनीमा गए पनि त्यसै
लिंदैनन । कलेजमामा पनि एउटा प्रवेश परीक्षा राखी दिए भै हाल्यो । बरू
विद्यालयमै भविष्य विभिन्न बाटा भन्ने एउटा कोर्स राखी दिए पनि हुन्छ ।
यसरी चोराउँदा पनि काम नगर्ने, दबाबले पनि
केहि फाईदा नहुने भएपछी, यस्ता विकृतिहरूको जन्मनै हुँदैन,र एउटा संस्कृति
को रूपमा विकसित हुन पाउँदैन । यस प्रकार केहि समय पछि विद्यालयले
(शिक्षकले) दिएका मुल्यांकन सहि हुने छन् र अन्य सरकारी एवं गैर सरकारी
निकायले पनि त्यसको कदर गर्ने चलन आउने छ ।
उपसंहार
यो लेखमा मैले नेपालमा विद्यालय स्तरमा
आमूल परिबर्तन गर्नु पर्छ भन्ने तर्क गर्दै एउटा बैकल्पिक प्रणालीको खाका
समेत पेश गरको छु । सारांशमा के भन्न खोजिएको छ भने, एस ।एल । सी । रद्द
गरिनु पर्छ, अभिभावकले आफ्ना नानीहरूको शिक्षा दिक्षामा निकै सक्रिय भएर
जिम्मेबारी लिनु पर्छ र आफ्ना नानीहरूको पठन पाठन खाली शिक्षक, विद्यालय र
सरकारको भरमा मात्र छोड्नु हुँदैन । त्यस्तै विद्यार्थीको शैक्षिक
उपलब्धिलाई सिधै शिक्षक र विद्यालयको उपलब्धि नाप्ने कसीको रुपमा लिनु पर्छ
। विद्यालायका उपलब्धिमा समानता ल्याउने उपायहरू गर्नु पर्छ, जस मध्ये
आर्थिक तथा अन्य पुरस्कार, अनुदान वा दण्ड पनि पर्न सक्लान । यो खालि एउटा
सुझाब मात्र हो । सरकारले देशका शिक्षाविदहरू संग गहिरो छलफल गरेर यहाँ
सुझाब गरेका वा अरुनै कुनै प्रणाली, वा विभिन्न प्रणालीको मिश्रणका बारेमा
विस्तृत रूपले बुँदागत र गम्भीर छलफल गरेर उपयुक्त प्रणाली अपनाउने छ भन्ने
आशा छ ।
अन्तमा, यहाँ प्रस्तुत गरिएका सुझाबहरू
कतिलाई व्यबहारमा उतार्न सकिन्न, वा यो नेपालमा हुनै नसक्ने कुरा जस्तो पनि
लाग्न सक्ला, अथवा हाँसो उठ्तो कुरा पनि लाग्ला । तर,एउटा देखेको कुरा
उदाहरणको रूपमा प्रस्तुत गर्न चाहान्छु । पूर्व-पश्चिम राजमार्गको अवधारणा
आउँदा धेरैले ’नेपालमा कसले त्यत्रो लामो बाटोमा बस चलाउँछ, यात्री कहाँ
पाउँछन,कसले त्यत्रो यात्रा गर्लान, कसरी नाफा हुन्छ, नेपालीसंग बस चढेर
खर्च गर्ने पैसा कहाँ छ’, आदि ईत्यादी कुरा सुनिन्थ्यो । तर, त्यो राजमार्ग
बनेपछि के भयो, यहाँ भनिराख्नु पर्दैन । कुनै पनि अभियानमा हाम्रा सङ्कोच,
न्युनाताभास र हिनताबोध मात्र हाम्रा बाधक हुन् ।
No comments:
Post a Comment